Our Profile
१. परिचय:
नेपालको सामाजिक, सांस्कृतिक र परम्परागत प्रचलनमा पूर्णतया सहकारीताको आदर्श अनुकूल रहेको छ । बर्तमान अवस्थामा पनि परम्परागत रुपमा चलि आएका प्रचलनहरु सहकारीप्रिय छन् । औपचारिक तथा कानूनी रुपमा वि.सं. २०१० सालदेखि सहकारीको सुरुआत भएको देखिन्छ । हाम्रा छिमेकी देशहरुमा सहकारी आन्दोलनको इतिहास १०० वर्षभन्दा बढी रहेको छ । नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते स्थापित “बखान ऋण सहकारी संस्था” लाई जनताको स्तरमा नेपालको पहिलो सहकारी संस्था मानिएको छ । राज्यकोतर्फबाट वि.सं. २०१० सालमा सहकारी विभाग स्थापना गरी सहकारी क्षेत्रमा पहल शुरु भएको पाईन्छ ।
वि.सं. २०१६ सालमा पहिलो सहकारी ऐन संसदबाट पारित गरियो । सहकारी ऐन २०१६ लाई संशोधन गरी वि.सं. २०१८ सालमा सहकारी संस्था नियम जारी गरियो । गैर कृषि क्षेत्रको विकासको लागी साझा केन्द्रीय कार्यालयको स्थापना गरियो । वि.सं. २०१९ सालमा सहकारी संघ संस्थामा कार्यरत संचालक, सदस्य र कर्मचारीको लागि तालिम प्रदान गर्ने उद्देश्यले सहकारी प्रशिक्षण केन्द्रको स्थापना गरियो । देशभर स्थापना भएका सहकारी संघ संस्थाहरुलाई ऋण उपलव्ध गराउने उद्देश्यले वि.सं. २०१९ सालमा सहकारी बैंक ऐन जारी गरी वि.सं. २०२० सालमा कार्यान्वयनमा ल्याईयो । सो बैंकलाई वि.सं. २०२४ सालमा कृषि विकास बैंकमा परिणत गरियो । २०२६ सालमा साना किसान साझा संस्था संगठन र संचालनको प्रारम्भ गरियो । वि.सं. २०४१ सालमा साझा संस्था ऐन लागु गरियो । वि.सं. २०४६ सालमा पञ्चायती व्यवस्थालाई जनआन्दोलनको माध्यमबाट हटाएर बहुदलीय व्यवस्थाको सुरुआत संगै मुलुकमा अपनाईएको सहकारी आन्दोलनको इतिहासको पनि पुरानो अध्याय समाप्त भयो ।
वि.सं. २०४७ सालमा साझा अभियानलाई सुदृढ र प्रभावकारी बनाई आवश्यक ठोस राय सहितको प्रतिवेदन पेश गर्न समिति गठन भई सो समितिले पेश गरिको प्रतिवेदनपछि वि.सं. २०४८ सालमा साझा केन्द्रीय कार्यालय विघटन गरी राष्ट्रिय सहकारी विकास बोर्डको गठन भयो । वि.सं. २०४८ सालमा सहकारी ऐन २०४८ संसदले पास गर्यो । यो ऐन जारी हुनुभन्दा अघि देशभरमा ८३० वटा साझा संघ संस्थाहरु क्रियाशील थिए । यी संघ संस्थालाई सहकारी ऐन २०४८ अनुसार रुपान्तरण गर्ने प्रकृयाको आरम्भ गरियो । वि.सं. २०४९ सालमा सहकारी नियमावली २०४९ जारी गरियो । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ जारी भयो र सरकार तथा सहकारी आन्दोलनको समन्वयात्मक कामका लागी राष्ट्रिय स्तरमा यो बार्डले कार्य गरेको छ ।
मुलुकमा संघीयताको शुरुआत पछि वर्तमान अवस्थामा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार नेपालका सहकारी संघसंस्थाहरुको संचालन र नियमनको व्यवस्था हुनुको साथसाथै स्थानिय निकायले समेत सहकारी नियमनको निमित्त विभिन्न किसिमको कानून तथा निर्देशिकाहरु बनाई सोही अनुरुप सहकारी संघसंस्थाहरुको दर्ता, संचालन र नियमनको व्यवस्था भएको छ ।
हिमाली वचत तथा ऋण सहकारी संस्था लि. “हिमाली साकोस” (Himali Savings & Credit Cooperative society Ltd. “Himali SACCOS”) सहकारी मूल्य, मान्यता सिद्धान्त र भावनालाई आत्मसात गर्दै समाजमा परेका समस्यालाई सहकारीको माध्यमद्धारा समाधान गर्ने तथा सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागी समूदायमा आधारित वचत तथा ऋण सहकारी संस्थाको माध्यमबाट सदस्यहरुको गरिवि न्यूनीकरण कार्यमा सहयोग पुर्याउने उद्देश्य लिई सदस्यहरुले संचालन गर्ने विभिन्न व्यवसायहरुमा टेवा पुर्याउने उद्देश्यले स्थापित समूदायमा आधारित एकल उद्देश्यको महिला वचत तथा ऋण सहकारी संस्था हो । यो संस्था अन्तर्राष्ट्रिय सहकारी महासंघद्धारा प्रतिपादित ७ वटा सिद्धान्त र अन्तर्राष्ट्रिय ऋण संघ संचालनका १० सिद्धान्त अनुसार संचालित र नियन्त्रित रहेको छ ।
२. संस्थाको ऐतिहासिक विकास:
२०५० साल आश्विन महिनाको १३ गते बुधवारका दिन भरतपुर नगरपालिका वडा नं. १०, ११ र १२ का महिला दिदी वहिनीहरुले भरतपुर नगरपालिका वडा नं. ११ स्थिति ग्रामीण सहयोग सेवा केन्द्रको कार्यालयमा भेला भई आपसी सहयोग, सदभाव र मितव्ययीताको अभिवृद्धि गरी आफूले आर्जन गरेको आयबाट नियमित रुपमा वचत गर्ने वानीको विकास गरी आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले २७ जना दिदी वहिनीहरु एक आपसमा मिलिजुली सहकारी संस्था स्थापना गर्ने सम्बन्धमा भएको छलफलको निर्णय अनुसार सहकारी ऐन २०४८ अनुसार सहकारी संस्था स्थापना गर्ने निर्णय भएको थियो । जसको फलस्वरुप सहकारी संस्था दर्ता गर्ने विधिवत प्रकृया पुर्याएर “हिमाली वचत तथा ऋण सहकारी संस्था लिमिटेड” नामकरण तय गरि संस्था तत्कालीन जिल्ला सहकारी कार्यालय चितवनमा २०५०-०६-२६ का दिन दर्ता नं. १७-०५०/०५१ बाट विधिवत रुपमा दर्ता भई आफ्ना सदस्यहरुमा वचत गर्ने वानिको विकास गरी उनीहरुबाट संकलित वचतलाई उनीहरुको शिप, ईच्छा र आंकांक्षा अनुरुपको उत्पादनमूलक, आयमूलक तथा घरायसी प्रयोजनको लागी सरल रुपमा कर्जा प्रवाह गरी उनीहरुको सामाजिक तथा आर्थिक जिवनस्कर उकास्नको निमित्त संचालन हुंदै आईरहेको छ ।